कृषिमा आधारित उद्योगको विषयमा राष्ट्रपति सी चिनफिङसँग छलफल भयो – प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगको विषयमा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग छलफल भएको बताएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।चिनियाँ राष्ट्रपति सीसँग भएको छलफलको विषयमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढिरहेको विषयमा छलफल भएको बताए ।
नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढी छ भन्ने विषयमा छलफल भएको छ । यस विषयमा हामीले महत्वपूर्ण छलफल गर्यौं । विश्वासको राम्रो वातावरण तयार भएको छ, प्रचण्डले भने, हामीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्रीसहितको टोलीसँग सामूहिक रुपमा छलफल गर्यौं । प्रधानमन्त्री प्रचण्डले शनिबार हाङचाउ सहरमा चिनियाँ राष्ट्रपति सीसँग एक्लै र सामूहिक रुपमा छलफल गरेका थिए ।यस क्रममा रेल, हवाई यातायाता र बाटोघाटो, पर्यटन, शिक्षा र स्वास्थ्यको विषयमा पनि छलफल भएको दाहालले बताएका थिए । आर्थिक सहयोगको दायरा वृद्धि गर्ने कुराकानी भएको छ ।
आपसी हितका विषय अघि बढाउने कुरा भएको छ, उनले भने । प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो र राजनीतिक नेतृत्वको हिसाबले पाँचौं पटक बेइजिङ आएको स्मरण गर्दै प्रचण्डले भने, पहिले भ्रमणमा बेइजिङ ओलम्पिकको समापन समारोहको संयोग परेको थियो भने अहिले एसियन खेलको उद्घाटन समारोह पर्यो । दाहालले प्रत्येक भ्रमणमा महत्त्वपूर्ण चिनियाँ नेतृत्वसँग भेटघाट भएको बताएका थिए ।अमेरिकामा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार स्वदेश फर्कने छन् ।





