इन्द्रजात्राले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति

नमुनापत्र संवाददाता
११ आश्विन २०८०, बिहीबार ०६:५५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले कुमारी इन्द्रजात्रा पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको उल्लेख गरेका छन् ।

मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा मनाइने इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपति पौडेलको अपेक्षा छ ।

उनले सन्देशमा भनेका छन्, ‘हाम्रो मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*