प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गरिने

नमुनापत्र संवाददाता
३ पुष २०८०, मंगलवार ०७:०३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्नेभएको छ ।

राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो ।

प्रधानमन्त्री दाहाललाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवाद उन्मुख लोकतन्त्र र सङ्घीयतालाई व्यावहारिक रुपमा लागू गरेको, नेपाल सम्बतलाई सरकारी दस्तावेजमा उल्लेख गर्न र बागमती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई मान्यता दिन अभिभावकीय भूमिका निर्वाह गर्नुभएकाले सो नागरिक अभिनन्दन गर्न लागेको कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले जानकारी दिनुभयो ।

निमन्त्रणापत्र बुझ्दै प्रधानमन्त्री दाहालले संस्कृतिमा धनी काठमाडौँ उपत्यका आदिवासी ज्यापू जातिको संस्कृति, सङ्गीत बाजाजागा, रीतिरिवाज, रहनसहनलगायत सामाजिक, सांस्कृतिक उत्थानको लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘‘नेपाल सम्बतलाई सरकारी दस्तावेजमा उल्लेख गर्ने र बागमती प्रदेशमा नेपाल भाषालाई सरकारी मान्यता दिनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठूलो उपलब्ध हो’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सङ्घीयता, लोकतन्त्र र गणतन्त्रप्रति बेला एकथरीले अनावश्यक रुपमा प्रहार गर्ने दुस्साहस गरेको बेला काठमाडौँका नेवार समुदायले सरकारले गरेका निर्णयलाई स्वागत गरेर अभिनन्दन गर्ने निर्णय गरेकोमा धन्यवाद दिन चाहन्छु ।’’

उहाँले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अक्षयकोषको लागि प्रदान गर्नुभएको रु १० करोड निकासा गर्ने बताउनुहुँदै नेपाली जनताले सरकारले गरेका राम्रा काममा समर्थन गरिरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*