मङ्गलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने, तीन प्रदेशका दर्जन बढी जिल्ला ‘रेड जोन’मा

नमुनापत्र संवाददाता
२१ श्रावण २०८१, सोमबार २१:४५

काठमाडौं । मङ्गलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसबाट अति प्रभावित हुने सम्भावना रहेका तीन दर्जन बढी जिल्लामा रेड अलर्ट जारी गरिएको छ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा परेका छन्।

यसैगरी गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन्।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ।

मनसुन न्यून चापीय रेखा मङ्गलबारदेखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ। साउन २२ गतेदेखि २३ गतेसम्म सम्म भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्व सतर्कता अपनाउन महाशाखाले भनेको छ।

मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ।

‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ बुलेटिनमा लेखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*