तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

नमुनापत्र संवाददाता
२२ श्रावण २०८१, मंगलवार १०:०४

बाँके । होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ ।

बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय सोहनलाल यादवले बताए ।

उनका अनुसार, राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुङ्गा चढेर नदीपारि जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।

“नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुङ्गे पुल छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प छैन”, राप्ती सोनारी–७ खल्ला झगडिया नयाँबस्तीका स्थानीय शङ्कर यादवले भने, “हिउँदवर्षात् जहिले पनि डुङ्गाबाट राप्ती नदी वारपार गर्ने गरेका छौं।”

डुङ्गामा नदी तारेको प्रतिव्यक्ति १० रुपैयाँ तिर्नु पर्दछ । गाईभैँसीलाई बोकेबापत २० रुपैयाँ, साइकलको १५ रुपैयाँ र मोटरसाइकलको ६० रुपैयाँ लिने गरेको डुङ्गाचालक नानबाबु पासीले बताए । डुङ्गामा एकैपटक ५० देखि ६० जना मान्छे र मालसमान नदी वारपार गराउने गरेको पासी बताउछन् ।

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका सयौँ नागरिक किनमेलका लागि पुग्ने गर्छन् । हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिका होलिया, बेतहनी र राप्तीपारि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गङ्गापुर र मटेहियाका दर्जनौँ नागरिक डुङ्गा तरेर जाने गर्दछन् ।

राप्ती तटीय क्षेत्रका नागरिक राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुङ्गामा सवार हुनुपर्ने समस्या अन्त्यका लागि मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको सांसद सूर्य ढकालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*