हेलिकप्टर दुर्घटनास्थलमा पाइलटसहित पाँचजनाको शव भेटियो

नमुनापत्र संवाददाता
२३ श्रावण २०८१, बुधबार १६:०२

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो ।

डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो ।

एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिए प्रहरी र स्थानीयबासीले आगो निभाउने कोसिस गरिरहेका छन् ।

त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो ।

डीएसपी भारतीका अनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*