राष्ट्रपतिसँग भारतीय विदेश सचिवले भने– जलवायु परिवर्तनको असर कम गर्न मिलेर अघि बढौँ

नमुनापत्र संवाददाता
२७ श्रावण २०८१, आईतवार २०:३८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आइतबार भएको सो शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल र भारत मिलेर काम गर्नुपर्ने बताए।

‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशाधन विकास नेपालको प्राथमिकता रहेको बताए।

उनले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख पनि गरे।

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकोले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल सरकारका योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको उनले बताए।

नेपाल भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ, त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पार्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*