भाटभटेनीलाई तीन लाख जरिवाना

रासस
१५ बैशाख २०७७, सोमबार २१:४०

काठमाडौँ, १५ वैशाख : दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ । विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि रु एक लाख जरिवाना गरेको छ ।

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*