राहत एकद्वारबाट बितरण गर्नुपर्छ – कसौधन
भैरहवा । कोरोना भाइरसको कारण विहान बेलुका खानाको समस्या भएका वर्गको पहिचान गरेर तीनै तहका सरकारले यतिबेला राहत बितरण गरिरहेका छन् ।
उक्त सहयोगले ज्यालादारी मजदुर, निजी कम्पनिमा काम गर्ने श्रमजीवि र गरिब तथा विपन्न परिवारलाई राहत प्रदान गरेको संविधानसभाका सदस्य आदीत्यनारयण कसौधनले बताएका छन् ।
सिद्धार्थनगरपालिकाद्वारा स्थापीत कोरोना नियन्त्रण तथा विपत राहत कोषमा कसौधन सेवा समिती सिद्धार्थनगरको तर्फबाट ३१ ह्जार रकम हस्तान्तरण गर्दै संविधानसभा सदस्य कसौधनले भने, ‘सरकारले जसरी राहत वितरण गरेको छ । त्यो ठीक छ । तर केही केहि व्यक्तिले आफु खुसी राहत बितरण गरेको सुन्नमा आएको छ । त्यो गलत हो । राहत एकद्वारबाट बितरण गर्नुपर्छ । ’
नेकपाका नेता समेत रहेका कसौधनले लकडाउनको प्रभावकारी कार्यन्वयनकोलागि स्थानिय सरकारले अझै कडाई गर्नुपर्नेमा जोड दिए । सो अवसरमा कसौधन सेवा समितीको उपाध्यक्ष पुनम कसौधनले सामाजिक भावनाले ओतप्रेत भएर उक्त रकम सहयोग गरेको बताईन् ।
सिद्धार्थनगर प्रमुख हरि प्रसाद अधिकारीले नगरभित्रका कुनै पनि व्यक्ति भोकै बस्न नपर्नेगरी नगरले राहत वितरणलाई व्यवस्थीत गरेको बताए ।





