कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु ,मृत्यु हुने ९ दिनकी सुत्केरी महिला
तुलसीपुर। नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया सुुत्केेेरी महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ९ दिन अघि डेलिभरी भएपछि नवजात शिशुसँगै उनी घर गएकी थिइन् ।कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनलाई स्थानीय अस्पतालबाट बिहीबार धुलिखेल ल्याइएको थियो ।
धुलिखेल अस्पतालका चिकित्सकहरूले उनलाई अस्पताल ल्याएलगत्तै मृत घोषणा गरेका थिए । उनको स्वाब धुलिखेल अस्पतालमा पिसिआर विधिबाट परीक्षण गरिएको थियो । धुलिखेलमा गरीएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ नै आएको थियो ।
स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न बिशेष टोली धुलिखेल पठाएको थियो । सोही टोलीको रिपोर्टका आधारमा स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टी गरेको हो ।






