नेपाल भित्रियो मनसुन,देशभर फैलन केही दिन लाग्ने
काठमाण्डौं । नेपालमा आज मनसुन भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपाल भित्रिएको हो।
महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आइपुगेको जानकारी दिएको छ।
मनसुन जेठ २५ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट एक सातामा मनसुन नेपाल आइपुगेको हो।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ। यसपालि एकदिन ढिला गरी मनसुन प्रवेश गरेको हो। पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभरी फेलिन केही दिन लाग्छ।
मौसमविद् विनु महर्जनले पश्चिमी भूभागमा मनसुनी वर्षा हुन अझै केही दिन लाग्ने बताउनुभयो।
उहाँका अनुसार अरबियन सागरमा विपाजोए नामक चक्रवात विकसित भइरहेकाले पश्चिम र सुदूरपश्चिम क्षेत्रमा तत्काल मनसुन पुग्ने सम्भावना छैन।
चक्रवातका कारण पूर्वबाट पश्चिम बग्नुपर्ने मनसुनी हावा पूर्ण रूपमा बग्न नसकेकाले अहिले पश्चिममा पश्चिमी वायु नै सक्रिय छ।
चक्रवातको असर कम हुँदै गएपछि ती क्षेत्रमा पनि मनसुन प्रवेश गर्छ, मौसमविद् महर्जनले भन्नुभयो।
मनसुन यति नै दिनमा नेपालभर पुग्छ भन्ने आकलन गर्न नसकिने पनि उहाँले बताउनु भयो ।
यसपालि सुदूरपश्चिम र पश्चिमी भूभागमा मनसुनी वर्षा पुग्न अझै केही दिन लाग्ने भएकाले त्यस क्षेत्रमा तापक्रम तत्काल नघट्ने महर्जनले बताउनुभयो।
पश्चिम तराईका भूभागहरुमा केही दिन तापक्रम यथावत् रहेपनि मध्य तराईका भूभागमा भने घट्दै गएको उहाँले बताउनुभयो।
भैरहवा लगायत मध्य तराईका भूभागमा हिजो अस्तिबाट अलिअलि तापक्रम घटेको देखिएको छ। बदली पनि बढ्न थालेको छ, उहाँले भन्नु भयो पानी पर्न सुरू भएपछि विस्तारै तापक्रम घट्ला,केहीदिन कायमै रहने देखिन्छ।





