पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध
काठमाण्डौं । पहिरोको कारण चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ।
बिहीबार मुग्लिन-नारायणगढ सडकखण्डको इच्छाकामना गाउँपालिका तीन नम्बर पुल नजिकै पहिरो खसेको हो।
पहिरो खसेर सडक अवरूद्ध भएको र अहिले पहिरो पन्छ्याउने काम भइरहेको मुग्लिन ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ठूलो पहिरो नखसेको तर पटक पटक पहिरो खस्ने ५ /७ मिनेटमा रोकिने र फेरि खस्ने बुधबार साँझ देखि नै भएको छ ।
यसरी समय समयमा पहिरो खसेपछि सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। आज बिहान डोजरले पहिरो पन्छ्याएर दुईतर्फी नै सञ्चालन गरेको तर फेरि पहिरो खसेर सडक अवरूद्ध भएको मुग्लिन ट्राफिक प्रहरीले जानकारी दिएको छ ।





