प्रधानमन्त्री आगामी सेप्टेम्बरमा छिमेकी मुलुक चीनकाे भ्रमणमा जानुहुन्छ : मन्त्री साउद

नमुनापत्र संवाददाता
१८ असार २०८०, सोमबार १५:२३

धनगढी । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी सेप्टेम्बरमा छिमेकी मुलुक चीन भ्रमणमा जानुहुने बताउनुभएको छ ।

धनगढीमा आज नेपाल प्रेस युनियन कैलालीको छैटौँ अधिवेशनको उद्घाटन गर्नुहुँदै मन्त्री साउदले आगामी सेप्टेम्बरमा प्रधानमन्त्री चीन भ्रमणमा जानुहुने गरि आवश्यक तयारी भइरहेको बताउनुभयो ।

“छिमेकी मुलुक चीन राजनीति तथा आर्थिक विकासका क्षेत्रमा उदाइरहेको छ”, मन्त्री साउदले भन्नुभयो “त्यसलाई नेपालले समेत उपयोग गर्न सक्नुपर्छ ।”

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा केही ठुला उपलब्धी भएको उल्लेख गर्दै छिमेकी मुलुक भारत र चीनको उदाउँदो अर्थतन्त्रको लाभ नेपालले लिन सक्नुपर्ने बताउनुभयो ।

मन्त्री साउदले अजरबैजानको बाकुमा हुने सम्मेलनमा नेपालीको टोली नेतृत्व गरेर आफू आजै राती त्यसतर्फ जान लागेको जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वडले निष्पक्ष र तटस्थ पत्रकारिता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन पूर्व वरिष्ठ उपाध्यक्ष दामोदर दवाडी, काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर, पत्रकार महासङ्घका प्रदेश अध्यक्ष योगेश रावल लगायतले बोल्नुभएको थियो ।

अधिवेशनबाट युनियनको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*