विद्यालयको गेट भत्किदा एक बालकको मृत्यु
सर्लाही । सर्लाहीको हरिवनमा एक विद्यालयको गेट भत्किदा एक बालकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
सोमबार बिहान हरिवन नगरपालिका–९, स्थितनयाँरोडमा रहेको ज्ञान ज्योति आवासीय इङ्लिस बोर्डिङ स्कुलको गेट भत्किँदा च्यापिएर सोही विद्यालयमा अध्ययन गर्ने बागमती–४, जिरायत निवासी आकाश बलका ४ बर्षीय छोरा आयूष बलको मृत्यु भएको हो । सोही घटनामा परेर अर्का बालक ७ वर्षका आदित्य लो पनि गम्भीर घाइते भएका छन् ।
बिहान विद्यालय पुगेका उनीहरू गेटबाट भित्र जाँदै गर्दा स्कुलको फलामे गेट लडेको थियो । सोही क्रममा दुवै जनालाई फलामे गेटले किचेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
घटना लगतै उपचारको लागि दुवै जनालाई नमुना अस्पताल हरिवन पुर्याएको थियो । सोही क्रममा ४ वर्षका आयूषको उपचारको क्रममा मृत्यु भएको हो ।
अर्का घाइते बालकको बिरगंजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।





