कोशीको सत्ता खान काठमाडौंमा दौडधुप
विराटनगर । बहुमत जुटाउन नसक्दा कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि काम चलाउ बनेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्गले ५ दिनको समय दिएर नयाँ सरकार गठनको दावी पेश गर्न आवहन गरिसकेका छन् । कुनै पनि दलहरुसँग बहुमत नहुँदा यतिबेला कोशी सरकार निर्माणका लागि नेताहरु राजधानी केन्द्रित बनेका छन् ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई लगाएत शिर्ष नेताहरु काठमाडौंमा छन् । कोशीमा कांगे्रसले संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय नै गरिसकेको छ । केन्द्रीय गठबन्धन अनुसार नै कोशी प्रदेशमा सरकार बन्ने नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बताए ।
मुख्यमन्त्री बन्ने आकांक्षासहित माओवादी केन्द्रका नेता पनि काठमाडौं पुगेका छन् । सरकारबाट बाहिरिएपछि मोओवादी केन्द्र राप्रपालाई लिएर आफ्नाे नेतृत्वमा सरकार बनाउने दाउमा छ । कोशीमा माओवादी केन्दका सांसद गणेश उप्रेतीले नेता इन्द्र आङ्वोको नेतृत्वमा सरकार बनाएर जाने बताएका छन् ।
यता सरकार ढलेपछि कामचलाउ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने कुनै पनि दलको बहुमत नपुग्ने भएकाले कोशी प्रदेशमा सवै भन्दा ठुलो दलको हैसितले आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । उनले सहमतिको सरकार बनाएर जान सकिने बताएका छन् ।
कोशी प्रदेशमा मध्यावधिको हल्ला चलिरहदा देशलाई संकटमा जान नदिने, मध्यावधि चुनावमा जान हुँदैन भन्नेमा नेताहरु एकमत देखिन्छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा एक मत नपुगेर एमाले नेतृत्वको सरकार ढलेको हो । कार्कीले ४६ मत पाएका थिए भने, विपक्षमा ४३ मत आएको थियो । सरकार गठन गर्न ४७ मत आवश्यक हुन्छ । कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्र १३ सभामुख सहित, राप्रपा ६, एकीकृत समावादी ४ र जसपा १ सांसद रहेका छन् ।





