राष्ट्रपतिको भारतमा उपचार गर्न जाँदाको उपचार खर्च अर्थमन्त्रालय सँग मागियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गर्दा लागेको खर्च राष्ट्रपति पौडेलले आफै व्यहोर्ने बताएपनि सरकारलाई नै खर्च व्यहोर्न निकासा मागेका छन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले निकालेको विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति आफैंले व्यहोर्ने इच्छा व्यक्त गरेको उल्लेख थियो।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सहितले राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैंले व्यहोर्न तयार हुनुपर्ने सार्वजनिक टिप्पणी गरेपछि शीतल निवासबाट राष्ट्रपतिको इच्छाबारेको विज्ञप्ति आएको थियो।
‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ कार्कीले निकालेको विज्ञप्तिमा भनिएको थियो।
हिजो मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ व्यहोर्न आग्रह गरेका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत वैशाख ६ गते भारत गएका राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका थिए।
स्वदेशमा उपचार नगरी विदेश गएको भनी कतिपयले राष्ट्रपति पौडेलको आलोचना गरिरहेका बेला उनी आफैँले उपचार खर्च बेहोर्ने घोषणा गरेर प्रशंसा कमाएका थिए।
तर उनै राष्ट्रपति पौडेलले दिल्लीमा गरेको उपचार खर्च आफैं ब्यहोर्ने कुरा उनको इच्छामै सीमित भएको भन्दै व्यापक आलोचना भएको छ। दिल्लीमा राष्ट्रपतिको उपचार गराउँदा लागेको खर्च माग्दै बिलसमेत अर्थ मन्त्रालयमा पुगेको छ।पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।
१२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।
राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेलको उपचार खर्चवापतको बिलअनुसार ५५ लाख २ हजार २७९ रुपैयाँ रकम माग्दै सोमबार अर्थ मन्त्रालयमा पत्र पठाएको हो।
उपचार खर्च निकासाका लागि भन्दै परराष्ट्रले अर्थलाई लेखेको पत्रमा राष्ट्रपतिको उपचार खर्चको बिल भरपाई भुक्तानीका लागि पेश भएको जनाएको छ।
त्यसबेला राष्ट्रपति पौडेलको उपचारका लागि सहयोगीका रुपमा ११ जना दिल्ली गएको विवरण पनि परराष्ट्र मन्त्रालयले अर्थमा पठाएको छ।
राष्ट्रपतिसँग उनकी पत्नी र छोरा, २ जना नाति, शिष्टाचार महापाल, सुरक्षाकर्मीसहित ११ जना दिल्ली गएको पनि पत्रमा जनाइएको छ।





