विकासका लागि सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्छ – मुख्यमन्त्री चौधरी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेशको विकासका लागि सत्ता पक्ष र प्रतिपक्ष एक हुनु पर्ने बताएका छन ।
उनले सदनमा विरोधका नाममा विरोध गर्न छोडेर प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिएर काम गर्नु पर्ने बताए । बुधवार बसेको लुम्बिनी प्रदेश सभामा बिशेष समय लिएर बोल्दै मुख्यमन्त्री चौधरीले विकास निर्माणमा सत्ता पक्ष—विपक्ष बन्न नहुने बताएका हुन् ।
काम गर्दै जादा सबैको सबै ठाउँमा पूर्णता नहुने भन्दै उनले सिक्दै र सुधार गर्दै जानु पर्ने बताए । प्रदेश सभामा प्रतिपक्ष दलले उठाएको कुरालाई सरकारले गम्भीर रुपमा लिएको बताउदै उनले छलफल पछि निकास समेत निस्किएको उल्लेख गरे ।
प्रदेश सरकार सहमति,सहकार्य र सम्वादको माध्यमबाट अगाडी बढ्ने नीतिमा रहेको भन्दै मुख्यमन्त्री चौधरीले त्यसको थालनी भइसकेको बताए ।
अहिले सत्ता पक्ष र प्रतिपक्ष भन्दा पनि प्रदेशको औचित्य पुष्टि गर्ने बेला भएको बताउदै उनले प्रदेशको औचित्य पुष्टि गर्ने भूमिका सबैले निर्वाह गर्नुपर्नेमा जोड दिए ।
आबश्यकता र औचित्यको आधारमा प्रदेश सरकारले काम सुरु गरेको भन्दै उनले यसका लागि प्रदेश सरकारले समिति नै बनाएर अध्ययन थालेको बताए । प्रदेशमा पक्ष विपक्ष एकै डुंगामा रहेको भन्दै उनले सफल भए सबै सफल हुने र असफल भए सबै असफल हुने भएकोले डुंगालाई सहि रुपमा अवतरण गरेर प्रदेशको औचित्य र आबश्यकता पुष्टि गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री चौधरीले रासायनिक मलको आपुर्ति सहज भइरहेको र थप सहजताका लागि प्रयास भइरहेको भन्दै प्रदेश सरकारले आबश्यकताको आधारमा सोही अनुसारको नीति अवलम्वन गर्ने बताए ।
उनले सदनलाई सिष्टरुपमा राख्न र अभद्र व्यवहार नगर्न समेत आग्रह गरे । इतिहासले देख्ने सुन्ने विषय सदन भएको भन्दै मुख्यमन्त्री चौधरीले सदनमा हुने गरेका अशिष्टता र गल्तीलाई सुधार गर्दै सिष्टतामा लैजान आग्रह समेत गरे ।
प्रजातन्त्र रहेमा मात्रै सबै कुरा छुट हुने भन्दै उनले प्रजातन्त्रलाई संस्थागत गर्ने र संघीयतालाई बलियो बनाउने तर्फ एक भएर लाग्नुको विकल्प नभएको बताए ।
उनले प्रदेशको समृद्धिका लागि प्रदेश सरकारले आर्थिक विकासका कार्यक्रम ल्याउन लागेको भन्दै त्यसका लागि प्रदेश सरकारले ३ अर्वको बास्केट फन्ड निर्माण भएको जानकारी गराए ।
अवका नीति तथा कार्यक्रम र बजेट आउदा वर्षहरुमा सुधार गर्दै लैजाने समेत बताए । मुख्यमन्त्री चौधरीले पोखरामा भएको मुख्यमन्त्री सम्मेलनबाट सार्वजनिक गरिएका विषय समेत सदनलाई जानकारी गराए ।





