लडाकु शिविर घोटाला बाहिर आउने डरले माओवादी सत्ताबाहिर बस्न नसक्ने मुकुल ढकालको आरोप
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले नेकपा (माओवादी केन्द्र) लडाकु शिविर घोटला काण्ड बाहिर आउने डरले पनि सत्ता बाहिर बस्न नसक्ने आरोप लगाएका छन् ।
उनले २०६४ यता माओवादीले एक दिन पनि सरकार नछाडेको बताउँदै शिविर घोटाला बाहिर आउने डर माओवादीका नेताहरुमा रहेको दावी गरे ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आएका ढकालले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘कहिले कोसँग, कहिले कुन दलसँग मिलेर माओवादी सरकारमा बसेकै छ । माओवादीले सरकार छाड्दैन ।’
उनले काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाए रास्वपा प्रमुख प्रतिपक्ष दलका रुपमा बाहिर बस्ने जनाए ।
‘२०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही हो । पुराना पार्टीहरुले सरकार चलाउने र रास्वपा प्रतिपक्षमा बस्नुपर्ने । तर, यी तीन दल मिल्न सकेनन्,’ उनले भने ।
महामन्त्री ढकालले काँग्रेस–एमालेलाई मिलेर सरकार बनाउन पनि सुझाएका छन् ।
उनले थपे, ‘काँग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत छैन । माओवादी सरकारमा टाँसिरहन्छ । उसले सरकार छोड्नेवाला छैन।’
अहिलेको प्रदेश सरकारबाट जनताको अपेक्षा पूरा हुन नसक्ने पनि उनले बताए । प्रदेश सरकारको माध्यमबाट नेता कार्यकर्ताको व्यवस्थापन मात्रै भइरहेको तर जनताका अपेक्षा पूरा नभएको उनको भनाइ छ ।
प्रदेश सरकार भनेको धेरै सांसद र मन्त्री मात्रै हुनु भन्ने नरहेको उनले जनाए । प्रदेशप्रति रास्वपाको विमति नरहे पनि यति धेरै सांसद र मन्त्री स्वीकार्य नरहेको ढकालले स्पष्ट पारे ।
‘‘प्रदेश रहनुपर्छ, तर मन्त्री र सांसद पाल्ने गरी होइन्, जनताबाट निर्वाचित मुख्यमन्त्री वा गभर्नर मात्रै राखेर प्रदेश संरचना बनाउनुपर्छ’, उनले भने, ‘यसले खर्च धान्न सहज हुन्छ, जनअपेक्षा अनुसार काम हुन्छन् ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन केही मानिस दिल्ली पुगेको भनेर दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने र त्यसपछि मात्रै पार्टीले धाराणा बनाउने जनाए । प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको उनले स्पष्ट पारे ।
‘प्रधानमन्त्रीले किन बोल्नुभयो भन्नेबारे आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । उहाँले स्पष्ट पारेको आधारमा हामी थप टिप्पणी गर्नेछौँ’, उनले भने, ‘अहिल्यै राजीनामा माग्दैनौं ।’ नेता ढकालले एमालेले नेपालको संविधानको मर्मअनुसार विकल्प बिना प्रधानमन्त्रीको राजीनामा माग्न नहुने जनाए ।
‘यो कुरा एमालेले बुझ्नुपर्छ । प्रधानमन्त्री राजीनामा माग्दा विकल्प दिनुपर्छ नत्र राजीनामा माग्न हुँदैन । मुलुकका अस्थिरता हुनुहुँदैन,’ उनले भने ।





