पार्टीले सत्तालाई प्राथमिकता नदिएको – नेकपा(एमाले) का महासचिव शंकर पोखरेल

नमुनापत्र संवाददाता
२३ असार २०८०, शनिबार १५:४०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् ।

महासचिव पोखरेलले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क गरे । नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागिपरेको दोहोर्याए ।

मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढ्नुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनाव लगत्तै आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी मिसन ग्रासरुट अभियान संचालन गरेको उनको भनाइ छ ।

महासचिव पोखरेलले जनादेश विपरित कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्वमा पु¥याउने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरु क्रियाशील रहेको बताए । उनले भने, ‘आज नेपालको राजनीतिमा हेर्नु हुन्छ भने जो कमजोर छ, त्यसले शासनको नेतृत्व गर्ने । के जनताको जनादेश त्यस्तै हो ? आज प्रतिनिधिसभामा हेर्नु हुन्छ भने नेपाली काँग्रेस पहिलो दल छ । नेकपा एमाले दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलको रुपमा रहेको छ । तर सरकारको नेतृत्व कसले गर्दैछ ? तेस्रो दलले गर्दैछ । के का आधारमा गर्दैछ ? भन्दाखेरी नेपाली समाजमा राजनीतिको धुब्रिकरण हुन सकेन । बलियो राजनीतिक दलहरु, जो राष्ट्रका लागि आवश्यक छन्, त्यस आधारमा उनीहरु बलिया हुन सकेनन् । यो मान्यताको आधारमा कमजोर शक्तिले शासन गर्ने र हरदम सम्झौता गर्ने, नीतिगत सम्झौंता गर्ने जुन प्रकारको अवस्था छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ ।’

उनले जति धेरै राजनीतिक दल, त्यति धेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको पनि बताए । उनले नीति, सिद्धान्त र संगठनविनाका नयाँ राजनीतिक शक्तिहरुले मुलुकको नेतृत्व लिन नसक्ने जिकिर समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*