युवा नेतृत्व आउँदैमा कांग्रेस पार लाग्ला त ?
काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरु धमाधम पार्टी छाडेर नयाँ पार्टीको खोजी गर्न थालेका छन् ।
कांग्रेस कार्यकर्ताहरु गाउँ गाउँबाट पनि रित्तिदै गएको हालै काठमाडौंमा भएको जिल्ला सभापतिहरुको भेलामा रिपोर्टिङ नै भएको छ ।
त्यसैले अब पार्टी र सरकारको नेतृत्व युवाहरुको काँधमा नआए आगामी निर्वाचनमा कांग्रेस पत्तासाफ हुने युवा नेताहरुले बताउन थालेका छन् ।
नेपाली कांग्रेसका सभापतिका आकांक्षी रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि अबको नेतृत्व हत्याउन डा. शेखर कोइराला दौडधुपमा छन् । तर पछिल्लो समय भने कांग्रेसको अवस्था भने कमजोर बन्दै गएको छ ।
अघिल्लो वर्ष भएको स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा पनि कांग्रेस एक्लै निर्वाचनमा होमिने आँट गरेन ।
विभिन्न पाँच दलीय गठबन्धन बनाएर कांग्रेसले चुनावमा भाग लिएको थियो । तीन दशक भन्दा बढी समयदेखि सत्ताको वरिपरि भएर पनि जनताको काम गर्न नसकेको भन्दै नयाँ दलहरुमा नागरिकको युवाहरुको आकर्षण बढिरहेको छ ।
सरकारमा रहेर पनि कांग्रेसले काम गर्न नसकेकाले आगामी निर्वाचनबाट सिद्धिने कांग्रेस युवा नेताहरुको भनाइ छ ।
कांग्रेसको रवैयाका कारण ८४ सालको निर्वाचनमा जुनसुकै पार्टीसँग मिले पनि कांग्रेसले चुनाव जित्नै नसक्ने उनीहरुको तर्क छ ।
कांग्रेसमा युवाहरुले सितिमित पार्टीमा जिम्मेवारी नै पाउँदैनन् । पहिलो पटक १४ औं अधिवेशनबाट युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए । पार्टी नेतृत्वका लागि उनीहरुले धेरै समय पालो पर्खिनुपर्ने निश्चित छ ।
त्यसैले उनीहरु पार्टी र सरकारको नेतृत्व पनि युवाको काँधमा आउनु पर्ने बताउन थालेका छन् ।
त्यसका लागि पार्टीभित्र पनि विभिन्न गुटउपगुट बनाएर छलफल चलाएका छन् । हिजोको प्रणालीबाट पार्टी जोगाउन नसकिउने उनीहरुको भनाई छ ।
पूर्व प्रधानमन्त्रीहरु पुनः प्रधानमन्त्री बन्न रोक्नुपर्ने कांग्रेस महामन्त्री गगन थापा बताउँछन् ।
कांग्रेसलाई माथ गर्ने गरी अन्य राजनीतिक दलहरु उदाइरहेका छन् । नयाँ दलहरुले देशब्यापी अभियान चलाइरहँदा कांग्रेस पनि रुपान्तरित हुँदै अघि बढ्नुपर्ने युवा नेताहरुको बताउँछन् ।
त्यसैले काँग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को शुरु गर्न जरुरी रहेको उनीहरुको भनाई छ ।
यतिबेला खासगरी कांग्रेस संस्थापन इतर पक्षका नेताहरु देउवालाई पार्टी नेतृत्वबाटै हटाउने क्याम्पेनिङ गरिरहेका छन् ।
जिल्ला सभापतिहरुको भेला डाकेर यो गुटले इतर पक्ष बलियो बनाएको छ । तर यति सजिलै युवाहरुलाई पार्टी नेतृत्व सुम्पिन र सरकारको बागडोल सम्हाल्ने दिने पक्षमा कांग्रेस नेताहरु सहज देखिएलान् भनेर विश्वास गर्न भने सकिँदैन ।





