रोकेर राखेको बोलेरो आफै गुड्दा ओखलढुंगामा दुई जना घाइते
ओखलढुंगा । रोकेर राखेको बोलेरो आफै गुडेर दुर्घटना हुँदा २ जना घाईते भएका छन । जिल्लाको मोलुङ गाउँपालिका १ स्थित मर्याङ भन्ने ठाउँमा आज (सोमबार) दिउँसो झन्डै ४ः३० बजेतिर बा १८ च ८६०२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी बोलेरोमा सवार सुनकोशी १० कटुञ्जेका सरोज धमला र मोलुङ गाउँपालिका १ कुन्तादेवीका समिता घिमिरे (गिरी) घाइते भएका छन । घाइतेमध्ये धमलाको हात फ्याक्चर भएको र गिरीको कुममा चोट लागेको प्रहरीले जनाएको छ ।
सदरमुकामबाट यात्रु र सामान बोकेर सुनकोशी गाउँपालिकाको कटुञ्जे तर्फ जाँदै गरेको बोलेरो मोलुङ गाउँपालिकाको वडा नं. १ स्थित मर्याङ भन्ने स्थानमा गाडी रोकेर चालकले सामान झार्दै थिए । सोहि बेला बोलेरो आफै गुडेर सडकको भित्तातिर ठोक्किएर पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डीएसपी) दिपकबहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा परि घाईते भएकाहरुको उद्धार गरि उपचारका लागि सामुदायीक अस्पताल सोब्रू ल्याईएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी आएपछि त्यसतर्फ प्रहरी टोली पठाईएको र घटना बारे बिस्तृत बिवरण आउन बाँकी रहेको केसीले बताए ।





