मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाकै मृत्यु
काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।
सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि गरे ।
प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई र आफू हेलिकप्टरमार्फत दुर्घटनास्थल जान खोजे पनि मौसमको खराबीका कारण अवतरण हुन नसकेको उनले बताए । उनले भने, ‘दुर्घटनामा ६ जनाकै मृत्यु भएको छ । उनका अनुसार दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको छ । खराब मौसमका कारण शव ल्याउन समस्या भइरहेको डीएसपी श्रेष्ठले बताए ।
उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थलमा अवतरण हुन नसकेपछि लिखुपिके गाउँपालिका-५ मै अवतरण गराइएको छ ।
जिल्ला सदरमुकाम सल्लेरीबाट नेपाल प्रहरी र नेपाली सेनाबाट थप २१ जना गाडीबाट दुर्घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ ।
हेलिकप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए । हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो ।





