बुधबारदेखि कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाक‍ो अनुमान

नमुनापत्र संवाददाता
२ श्रावण २०८०, मंगलवार १०:१८

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतिर सर्दा बुधबारदेखि कम वर्षा हुने देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपासै छ ।

पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। यसले तराई–मधेसतिर कम पानी पर्ने सम्भावनालाई इङ्गित गर्ने मौसमविद् विनु महर्जनले जानकारी दिइन्।

‘मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदरकै स्थानमा रहेकाले हल्का तथा मध्यम वर्षा भइरहेको छ। पूर्वमा दक्षिणतर्फ सरेकाले पानी कम परेको छ। भोलिदेखि कम पानी पर्ने अनुमान गर्न सकिन्छ,’ उनले भनिन्।

मौसमविद् विनोद पोखरेलले तिब्बतबाट नेपालतिर बादल सरेकाले मध्य पहाडमा बढी वर्षा भएको र तराईका कम वर्षा भएको उल्लेख गरेका छन्।

उनले ट्विटमार्फत् केही दिन तराईमा हल्का वर्षा हुने पनि प्रक्षेपण गरेका छन्। अहिले देशैभर बदलीको अवस्था रहेको महर्जनले बताइन्। उनका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा अहिले हल्का वर्षा भइरहेको छ।

आज डोटी, डडेलधुरा, अछाम, दोलखा, सिन्धुपाल्चोक, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने नदीको जल सतह बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत् भनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*