शोकको घडीमा पाएको साथ र सदभावले देश,समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको छ: प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको आज सातौँ दिनको अवसरमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भएको उक्त सभामा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेता डा। बाबुराम भट्टराई, झलनाथ खनाल, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो।
पत्नी वियोगमा परेका प्रधानमन्त्री दाहालले उक्त सभामा सम्बोधन गर्दै आफ्नो जीवनसहयात्री भएर सीताले दिएको साथ र योगदानको प्रशंसा गरेका थिए। आफ्नो कठिन विगतमा हाँस्दै साथ दिएकी सीताले बाचुञ्जेल पनि आफूलाई कहिल्दै दुस्ख नदिएको र मर्दापनि दुस्ख नदिई चुपचाप बिदाई भएको बताएका थिए।

साथै, उक्त सभामा सहभागीले सीताले प्रचण्डको राजनीतिक र पारिपारिक जीवनका लागि दिएको साथ र त्यागको सक्दो प्रंशसा गरेका थिए।
सभालाई सम्बोधन गर्दै उनले भने, ‘शोकको यो घडीमा यहाँहरुको साथ, समवेदना र सदभावले हामीलाई पीडाबाट निस्कनमात्र मद्दत गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं, मैले र हाम्रो परिवारले ।’
सभामा सीताको परिवार, आफन्त र राजनीतिक जीवन समेटिएको भिडियो सामग्रीसमेत प्रस्तुत गरिएको थियो।
सीता दाहालको गत असार २७ गते उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको थियो ।





