करोडौं रकम लिएर फरार भएका झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पक्राउ
झापा । करोडौं रकम लिएर फरार भएका झापा गौरादह नगरपालिकाका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पक्राउ परेका छन्। स्थानीयको ३० करोड बढी रमक लिएर फरार भएका विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।
बिगत २० बर्ष अघिदेखि गौरादह बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका विश्वकर्माले स्थानीयको करोडौं रकम लिएर फरार भएपछि उनी बिरूद्धमा प्रहरीमा उजुरी परेको थियो । फरार रहेका विश्वकर्मालाई झापा प्रहरीको टोलीले काँकडभिट्टा बाट नेपाल प्रवेश गरे लगत्तै पक्राउ गरेको हो ।
गत असार १५ गते चिठी लेखेर वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा पठाएर सम्पर्क विहीन भएका विश्वकर्मालाई पक्राउ गरी चन्द्रगडी हिरासतमा राखिएको छ । फरार रहेका विश्वकर्मा सिक्किम, दार्जिलिङसहित भारतको विभिन्न ठाउँ घुमेर फर्किएको बुझिएको छ । भारतीय नम्बर झापा प्रहरीले भेटेपछि विश्वकर्मा भाग्न नपाएको झापा प्रहरीले जनाएको छ ।
गौरादहका ५०८ जनाको करिब ३० करोड रकम हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरुले ठगी मुद्धा दर्ता गरिसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार उजुरीका आधारमा अब कानुनी प्रक्रिया अघि बढ्नेछ ।





