सेटिङबिना सुन तस्करी असम्भव : रवि लामिछाने

नमुनापत्र संवाददाता
६ श्रावण २०८०, शनिबार ११:२१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।

आज विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन बरामद प्रकरणमा अनुसन्धान भइरहेकाले यसबारेमा थप टिप्पणी गर्नु जायज नहुने बताए ।

उनले सुन प्रकरणलाई लिएर एमालेका केही नेताले अहिले नै गृहमन्त्री नारायणकाजीको राजीनामा माग गर्नु उचित नभएको तर्क गरे । उनले अनुसन्धान भइरहेकाले धैर्यता लिनुपर्ने बताए ।

अध्यक्ष लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको स्पष्ट पारेका छन् । उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीका सांसद तथा नेताले समेत नबोलेको दाबी गरे ।

उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट रहेको उल्लेख गरे । अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए ।

उनले आफ्नो पार्टी आम समर्थकको पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*