भूमाफिया चौधरी र मालपोत कर्मचारीको मिलेमतोमा यसरी हडपियो करोडौंको जमिन निःशुल्क

नमुनापत्र संवाददाता
८ श्रावण २०८०, सोमबार २०:०१

भैरहवा। रुपन्देहीमा करोडौं मूल्य पर्ने व्यक्तिको जमिन भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा झुक्याएर अर्कैको नाममा पास गरिएको छ । भूमाफियाहरु ढालबहादुर चौधरी र हरिप्रसाद पोखरेलसँगको मिलेमतोमा जग्गाधनी नै उपस्थित नभई जग्गा अर्कै ब्यक्तिको नाममा नामसारी गराउन जिल्ला मालपोत कार्यालय, रुपन्देहीका मालपोत प्रमुख कुमार आचार्य, मालपोत अधिकृत बालप्रसाद श्रेष्ठ, नायब सुब्बा सुवाश बरईले भूमिका खेलेको देखिन्छ ।

भूमाफिया चौधरी र पोखरेलले मालोपोत कर्मचारीसँगको सेटिङमा भारत घर भई नेपालमा अपुताली जग्गा प्राप्त गरेकी कलमावती यादवको रुपन्देहीको सियारी गाउँपालिका–२ मा रहेको जग्गा निःशुल्क पास गरेका हुन् ।

१ विघा बढी उक्त जग्गामध्ये भूमाफिया चौधरीको समन्वयमा पोखरेल आफैले केही आफ्नो नाममा गराएका छन् भने बुटवलका जवहरलाल कसौधनको नाममा पनि जग्गा पास गरिएको छ । बजार मूल्यअनुसार उक्त जग्गाको मूल्य ६ करोड बढी पर्छ । तर, कलमावतीको उपस्थिति विनै उनको करोडौंको जग्गा निःशुल्क पोखरेल र कसौधनको नाममा गएको छ ।

भूमाफिया चौधरी विगतदेखि नै विवादित व्यक्ति हुन्, उनीहरुले पटकपटक यस्ता कार्य गर्दै आएका छन् । पछिल्लो पटक चौधरीको पासोमा भारत महाराजगञ्ज जिल्लाकी कलमावती यादवको परेकी हुन् । कलमावतीको माइत सियारी वडा नम्बर २ हो । उनका भाई राजिन्द्र यादवको अंश मागेकै कारण आफन्तबाट अघिल्लो वर्ष हत्या भएको थियो ।

भाइको हत्यापछि कलमावतीले जिल्ला अदालत रुपन्देहीमा अंश मुद्दा दिइन् । राजिन्द्र यादवको भागमा पर्ने जग्गा पछि अदालतको आदेश अनुसार कलमावती यादवले पाइन् । तर, भारतमा विवाह भएको, उतैको नागरिकता प्राप्त गरेका कारण उनले जग्गा विक्री गर्नुपर्नेभयो । अदालतले पनि जग्गा कलमावतीको नाममा नजाने तर विक्री गर्न आदेश दियो ।

सुरुवातदेखि नै उक्त जग्गामा आँखा लगाएका भूमाफिया ढालबहादुरले कलमावतीलाई अदालतमा मुद्दा दर्ता गर्न समन्वय गरेका थिए । मुद्दा टुंगो लागेपछि भने उनले कलमावतीलाई झुक्याए र करोडौंको जग्गा अरुको नाममा पास गराई आफूले करोड रकम बुझे ।

यो कुरा जग्गा नाममा गएका पोखरेल र कसौधनको भनाईले पनि पुष्टि गर्छ । कलमावतीको आमाको नाममा रहेको उक्त जग्गा गुल्मी दिगामका घर भई हाल बुटवल बस्ने भूमाफिया पोखरेलको नाममा साविक मैनहिया गाविसको वडा नम्बर ७ (क) कित्ता नम्बर ६७ को १४ कठ्ठा ८ धुरबाट ६ कठ्ठा ४ धुर र सोही गाविसको वडा नम्बर ७ ९(ख) को कित्ता नम्बर १०० को २ कठ्ठा १३ धुर गरि १७ कठ्ठा १ धुर जग्गा पास गरिएको छ । यी जग्गाको थैली रकम ५२ लाख १ हजार रुपैयाँ राजीनामाको लिखतमा उल्लेख छ ।

यस्तै, बुटवलका जवाहरलाल कसौधनको नाममा थैली रकम ८३ लाख ९ हजार रुपैयाँ उल्लेख भएको साविक मैनहिया गाविसको वडा नम्बर ७ (ख) कित्ता नम्बर १२० बाट ५ कठ्ठा साढे १३ धुर जग्गा नामसारी भएको छ । यी सबै जग्गा आफ्नो नाममा बनाउँदा जग्गाधनीलाई एक रुपैयाँ पनि दिएको देखिँदैन भने जग्गा पास हुँदा कलमावती मालपोतमा उपस्थितिसमेत थिइनन् ।

पीडित कलमावतीका अनुसार सवा करोडमा जग्गा खरिदविक्री गर्ने सहमती भएको थियो । यसमा भूमाफिया चौधरीले समन्वय गरिरहेका थिए । तर, मालपोत कर्मचारीको मिलेमतोमा एक रुपैयाँ नै नदिई चौधरीले जग्गा अरुको नाममा पास गराउन सफल भए । यसमा मालपोत प्रमुखदेखि नायवसुब्बा सम्मले मोटो रकम बुझेको पीडितको दावी छ । घटनाक्रमले पनि यो कुरालाई पुष्टि गर्छ ।

जग्गा पास गराउन भन्दै कलमावती सहित भूमाफिया चौधरी, पोखरेल र कसौधन असार २५ गते मालपोत कार्यालय, भैरहवामा पुगेका थिए । चौधरीले उक्त जग्गा आफ्नो नाममा नभई पोखरेल र कसौधनको नाममा पास गरिदिन भने । पीडित कलमावती यादवका अनुसार असार २५ गते मालपोत कार्यालय, भैरहवामा जग्गा पास गर्न जाँदा उनले आफूले पाउनु पर्ने रकम माग गरिन् । ‘केही मालापोत प्रक्रियाहरु पूरा गरेपछि मैले रकम मागेँ, तर उनीहरुले आलटाल गरे, दिएनन्’, पीडित कलमावतीले भनिन्, ‘रकम नपाएपछि म जग्गा पास गरिदिन्न भनेर मेरो घर भारत फर्किएँ ।’

असार २५ गते जग्गा नामसारी नभएपछि कलमावती घरतर्फ लागिन् । तर, कर्मचारी र भूमाफिया एक ठाउँ भएर जुक्ति निकाले । अनी, कलमावतीको उपस्थितिबिनै एउटा जग्गा असार २७ गते र अर्को असार २८ गते नामसारी गरे । मालपोत कार्यालयका मालपोत अधिकृत बालप्रसाद श्रेष्ठले जग्गा धनि नै नभई र रकम नै नपाई आफ्नो नामको जग्गा पारित गरिदिएको पीडितले बताइन् । ‘अहिले पनि त्यहाँ जग्गाको मूल्य ६ करोड बढी पर्छ, तर मैले कानूनी अड्चनले सवा करोडमै विक्री गर्न लागेकी थिएँ’, उनले भनिन्, ‘तर माफियाले बद्मासी गरे, न्याय पाउँछु भन्ने विश्वास छ ।’

ढालबहादुर विगतदेखि नै विवादित मानिस हुन् । उनले कलमावतीको जस्तै ‘अनसिन’मा बसेर कयौंपटक व्यक्तिका जग्गा विक्री गर्दै आएका छन् । सरकारी जमिनमा पनि उनले गिद्दे नजर लगाउँदै आएका छन् । विगतमा पनि सियारीकै एक अशक्तको जमिन ढालबहादुरले नै अर्कैको नाममा निःशुल्क विक्री गरेर करोडौं रकम कुल्याएका थिए । यसपटक पनि उनले त्यही नियती दोाहेर्याएका छन् । आफ्नो करोडको जमिन विना पैसा अर्कैको नाममा गएपछि अहिले कलमावती चिन्तामा छन् । उनले न्यायका लागि बिभिन्न निकाय धाइरहेकी छन् ।

कलमावतीसित जालझेल भएको अर्को कागजातले पनि पुष्टि गरेको छ । लेखापढी ब्यवसायी भागवतप्रसाद उपाध्यायले उनै कलमावती एवम् जवाहरलाल कसौधनबीच बैनाको कागज पनि बनाएका छन् । कलमावतीको नाममा २०८० सालको जेठ १९ गते प्राप्त हुन आएको जग्गाको बैना बापत भन्दै उनले २०७८ साल असार ४ गतेमै ८० लाख १० हजार बुझाएको देखाएका छन् ।

यस्तै अर्का ब्यक्ति हरिप्रसाद पोखरेलले २०७८ असार ५ गते ५० लाख १ हजार बैना बापत रकम दिएको कागज राजीनामा लिखतमा संलग्न राखेका छन् । तर, यो दुबै बैनाको कागज किर्ते भएको कलमावतीको दावी छ । ‘मैले कुनै रकम बुझेको छैन, मेरो नाममा के कति जग्गा कहिले आउने उहाँहरुलाई कसरी थाहा भयो ?’ उनले प्रश्न गर्दै भनिन्, ‘यी बैनाका कागज पनि सबैको मिलेमतोमा तयार पारिएको हो, त्यसमा रहेको औठाछाप पनि मेरो हैन ।’

बैनाको कागज किर्ते रहेको निःशुल्क रुपमा जग्गा आफ्ना नाममा बनाएका पोखरेल र कसौधनको भनाईले पनि पुष्टि गर्छ । उनीहरु दुबैजनाले कलमावतीसँग बैना नगरेको प्रतिक्रिया दिएका छन् । पोखरेल र कसौधन दुबैले आफूहरुले कलमावतीलाई नचिन्ने, उनलाई जग्गा खरिद गरेको रकम पनि नदिएको बताउँदै सबै ढालबहादुर मार्फत् कारोबार भएको बताए । ‘हामी दुबै जनाले नगद पैसा ढालबहादुरलाई दिएका हौं, कति पैसा दिऔं त्यो अहिले थाहा छैन’, उनीहरुले समान प्रतिक्रिया दिए ।

राजीनामा, बैनाको सबै कागजहरुमा साक्षीको रुपमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ बस्ने जगदिश भर र सियारीस्थित मैनहिया बस्ने अजय चौधरी छन् । मालपोत कार्यालयका कर्मचारी, लेखापढी ब्यवसायी, जग्गाधनी एवम् साक्षीहरुको समेत मिलेमतोमा जग्गा पास भएको आरोप कलमावतीको रहेको छ । ‘यही जग्गाको कारण मेरो भाईको हत्या भयो, लामो संघर्षपछि मैले उक्त जग्गा पाएँ तर माफियाले खाइिदिए ।’ मालपोत कार्यालयका मालपोत अधिकृत बालप्रसाद श्रेष्ठले नियम अनुसार नै उक्त जग्गाको रजिष्ट्रेशन सदर गरेको दावी गरे ।

श्रेष्ठले उक्त राजीनामा लिखत हाकिम (मालपोत प्रमुख कुमार आचार्य)को आदेश अनुसार पारित गरेको बताए । ‘मैले यस बिषयमा सबैकुरा हाकिम साबलाई सोधेँको थिएँ, उहाँले पारित गरिदिँदा हुन्छ भने पछि साहीअनुसार भएको हो’, उनले भने । जग्गा पारित गर्दा पनि राजीनामा लिखतमा श्रेष्ठले ‘प्रमुख मालपोत अधिकृतज्यूको निर्णय अनुसार’ भनि उल्लेख गरेका छन् । यस विषयमा ढालबहादुर चौधरीसँग कुरा गर्दा उनले अहिले यसबारे केही नबोल्ने बताए ।

विगतदेखि नै यस्ता गैरक्रियाकलापमा संलग्न हुँदै आए पनि ढालबहादुर कानूनी फन्दाबाट उम्किरहेका छन् । ढालबहादुर चौधरी र लेखापढी ब्यवसायी भागवतप्रसाद उपाध्याय एवम् हालका जग्गा धनीहरु हरिप्रसाद पोखरेले र जवाहरलाल कसौधनसहित मालपोतका कर्मचारीलाई कारबाही गर्नुपर्ने माग पीडितको छ । लेखापढी उपाध्याय मालपोत कार्यालयमा हुने किर्ते एवम् जालसाजीमूलक घटनामा उनको नाम प्रायजसोमा जोडिएकै हुन्छ । पीडितले घटनामा संलग्नविरुद्ध जिल्ला प्रहरी रुपन्देहीमा ठगी मुद्दामा जाहेरी दिएकी छन् । यसबारे प्रहरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*