एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका दिलीप भुजेलको घर

नमुनापत्र संवाददाता
११ श्रावण २०८०, बिहीबार ११:४६

काठमाडौं । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको सिम्टेसम्म कच्ची बाटोको यात्रा गरेर आधा घन्टा उकालो पैदल लागेपछि आउँछ– बिसौना टोल । त्यहाँ जस्ताले छाएको डेढतले घर छ, जुन ०७२ को भूकम्पपछि सरकारी अनुदानसहित लागतमा बनेको हो ।यो घर हो, अहिले चर्चामा रहेको एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका २१ वर्षीय दिलीप भुजेलको । गाउँमा परिवारको हातमुख जोर्न गाह्रो भएपछि उनी ६ महिनाअघि मजदुरी गर्न काठमाडौं गएका थिए । उनका बुबा रामबहादुर अहिले पनि काठमाडौंमै ज्यामी काम गर्छन् ।

राजस्व अनुसन्धान विभागले गत ३ साउनमा हङकङबाट ल्याइएको झन्डै सय किलो सुन बरामद गर्दा भुजेल रेडी ट्रेडका मालिक भएको खुल्यो र उनी पक्राउ परे । गाउँमै रहेका आमा कल्पना र पत्नी प्रमिला यो घटनाले स्तब्ध बनेका छन् । ‘मजदुरी गर्न हिँडेको छोरो सुनकाण्डमा जेल पर्‍यो, भेट्न जान बाटोखर्च पनि छैन,’ आमा कल्पनाले रुँदै भनिन् । पक्राउ पर्नुअघिसम्म पनि छोरो साँखुस्थित एक चाउमिन बनाउने सानो उद्योगमा काम गर्ने गरेको उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*