साउन दोस्रो साता लाग्दा पनि पर्याप्त पानी नपरेपछि किसान चिन्तित

नमुनापत्र संवाददाता
१३ श्रावण २०८०, शनिबार १८:१०

महाेत्तरी । साउन दोस्रो साता बित्नै लाग्दासम्म राम्ररी पानी नपरेर धान रोपाइँ गर्न नपाएका यहाँका किसान यसपालि खडेरी पर्ने चिन्ताले पिरोलिएका छन् । धान रोपाइँ गर्न नपाइएको र अन्य बोटबिरुवा पानीबेगर सुक्दै गएपछि किसान यसपालि ठूलो खडेरी पर्ने चिन्ताले पिरोलिएका हुन् ।

“साउन आधा बित्नै लाग्यो, धान रोप्न पाइएन”, भङ्गाहा–५ भूचक्रपुरका ६५ वर्षीय किसान दीपनारायण चौधरी थारू भन्छन्, “सुत्ला आउँदै गरेका मकैका बोट सुक्दैछन्, वरपरका बोटबिरुवा पानीबेगर सुक्दै छन् ।”

मुख्य बाली मानिने धान रोप्न नपाइएको र अन्य बाली पनि सुक्दै गएपछि किसान रनभूल्ल छन् । साउन मध्य बित्नै लाग्दासम्म मौसमको लक्षण पानी पर्ने नदेखिएको पाका किसान बताउँछन् ।

“असार–साउनमा पानी नपरेर प्रचण्ड रापको घाम र तातो हावा चलिरहेपछि केही–केही ठाउँमा धान रोपिएका खेत चिरा परेका छन्, लहरे तरकारी बालीका बेला सुकेर पहँलिदै गएका छन्”, गौशाला नगरपालिका–११ का लक्ष्मीप्रसाद महतोले भने । अहिलेको मौसमले खडेरीको लक्षण देखिएकाले अब गुजाराको चिन्ताले पिरोलेको महतोको भनाइ छ ।

यसपालि खडेरीको लक्षण देखिन थालेपछि जिल्लाका सबैजसो बस्तीमा सर्वसाधारणलाई गुजाराको चिन्ताले पिरोलेको छ । “जिल्लामा प्रत्येक दुई–तीन किलोमिटरको दूरीमा नदी छन्”, भङ्गाहा–४ पलार बस्तीका किसान चौठी बाँतरले भने, “तर यी नदी बर्खेभेलले बस्ती र खेतबारी बगाउने अभिशापमात्र बनेका छन् ।” नदीको पानीले जताततै सिँचाइ प्रबन्ध नभएपछि यी अभिशाप बनेका बाँतरको भनाइ छ ।

मुख्यबाली धान नै बनाएका जिल्लाका किसान राम्रो मौसमको पर्खाइमा छन् । अनुकूल मौसम भए सन्तुलित पानी पर्ने, बालीनाली लगाउन सजिलो हुने र उत्पादन पनि राम्रो हुने कल्पना पनि यहाँका किसानले गर्न छाडेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*