रोल्पामा जंगली च्याउ खाँदा ५ जनाले गुमाए ज्यान

नमुनापत्र संवाददाता
१४ श्रावण २०८०, आईतवार १४:१५

रोल्पा । रोल्पामा जंगली च्याउ खाँदा करिब तीन साताको अन्तरमा ५ जनाको मृत्यु भएको छ। जंगली च्याउ खादा रोल्पाको लुङ्ग्री गाउँपालिकामा करिब तीन साताको अन्तरमा ५ जनाको मृत्यु भएको र यसरी मृत्यु हुनेमा एकै परिवारको ३ जना सदस्य समेत रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी श्याम कुमार सारु मगरले बताए ।

डिएसपी सारु मगरका अनुसार यस अघि विभिन्न समयमा ४ जनाको मृत्यु भएको र शनिबार थप एक जनाको उपचारको क्रममा बुटवलमा मृत्यु भए संगै मृत्यु हुनेको संख्या ५ पुगेको हो। शनिबार मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीय विमला बिक भएको र विषालु च्याउ खादा बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गत असार २६ गते विषालु च्याउ खादा गम्भीर बिरामी भएकी विमला लाई थप उपचारको लागि असारमा ३१ मा बुटवल स्थित लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको थियो। उनको शनिवार उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

प्रहरीका अनुसार यस अघि जंगली च्याउ खादा बिरामी भइ उपचार गराइरहेका मध्ये सोही सोही पालिकाका ७ वर्षीय रोशनी बिक, ३३ वर्षीय भीमा गुरुङ, छोराहरु ११ वर्षीय सुशील र ६ वर्षीय प्रेमको जंगली च्याउ खादा मृत्यु भएको थियो ।

जंगली च्याउ खादा एकै गाउँ का एक दर्जन भन्दा बढी मानिसहरु बिरामी भएका थिए । यस घटना संगै आम नागरिकहरु लाई जंगली र नचिनेका च्याउहरु नखानका लागि सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालय रोल्पाले गाउँ गाउँमा जानकारी मुलुक तथा सूचनामुलुक सचेतना अभियानहरु चलाउनुका साथै स्थानीय एफएम रेडियोहरु बाट समेत प्रचारप्रसार गर्ने काम गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम कुमार सारु मगरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*