मानसिक सन्तुलन गुमाएका किशोरले लगाइदिए ५ मतानघरमा आगो
ओखलढुंगा । मानसिक रोगबाट पिडित एक किशोरले जिल्लास्थित चिसंखुगढी गाउँपालिकाका विभिन्न मतानघर तथा गोठमा आगजनी गरेका छन् । केही दिनअघि २ वटा गाईगोठ तथा मतानघर जलाइदिएका उनले आज (आईतबार) पुन ३ मतानघर तथा गोठ जलाइदिएका छन् ।
घर तथा गोठ जलाउँदै हिँड्ने ती किशोर चिसंखुगढी गाउँपालिका २ का १६ वर्षीय किशोर घिमिरे हुन् । उनले आज मात्रै सोही ठाउँका कमलबहादुर श्रेष्ठको फुसको छानो भएको ढुङ्गा माटोले बनेको १ तले मतानमा आगजनी गरेका छन् ।
त्यस्तै सीताराम भण्डारीको फुसको छानो र ढुङ्गा-माटोले बनेको १ तले मतान तथा टंकप्रसाद घिमिरेको फुसको छानो भएको गाईको गोठमा पनि आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगजनीबाट ती मतानहरु तथा गोठ पुर्ण रुपमा जलेर नष्ट भएका छन् । यसअघि पनि निज किशोरले चन्द्रबहादुर बिकको फुसको छानो, ढुङ्गा माटोले बनेको १ तले मतान र बिष्णुप्रसाद घिमिरेको गोठमा आगजनी गरेको खुल्न आएको छ ।
आगजनीबाट झन्डै ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
आगजनी गर्ने किशोरलाई स्थानीयबासी, जनप्रतिनिधि र प्रहरी समेतको सहयोगमा उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।





