रुकुमको बाँफीकोटमा पहिरो खस्दा दुई जनाको मृत्यु एक जना घाइते
दाङ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ७ को बाँसथलामा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
आइतबार दिउँसो बाँसथलास्थित पोखरापरी भिरमाबाँफिकोट गाउँपालिका- ७ को बाँसथलामा घाँस काट्ने क्रममा पहिरोको ढिस्को खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा बाँफिकोट- ७ की ४५ वर्षिया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षिय कालीबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेका थिए ।
पहिरोमा परि एक जना घाइते भएका छन् । घाइते हुनेमा बाँफिकोट ७ कै ४२ वर्षिया बलकुमारी खत्री रहेका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।





