पार्टी सुदृढीकरणका लागि प्रचण्डको तीन महिने अभियानको प्रस्ताव पेश
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संगठन सुदृढीकरणका तीन महिने अभियान सञ्चालनको प्रस्ताव गरेका छन्।
बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमा तीन महिने अभियान सञ्चालनको प्रस्ताव गरिएको छ।
यही भदौ, असोज र कात्तिकमा संगठन सुदृढीकरण अभियान चलाउन उनले प्रस्ताव गरेका हुन्।
यो अभियान वडा तहसम्म पुग्नेछ। ६ हजार ७ सय ४३ वडा कमिटी तयार पारेर अभियान सञ्चालन गरिने पनि उनले बताएका छन्।
साथै उनले अनुशासन आयोगले अनुशासनसम्बन्धी उजुरीहरू पनि तत्काल छानबिन गर्ने बताएका छन्।





