बाँकेमा लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप

नमुनापत्र संवाददाता
१७ श्रावण २०८०, बुधबार १६:५३

नेपालगन्ज । बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको सङ्क्रमण ‘लम्पी स्किन’विरुद्ध पाँच हजार पाँच सय डोज खोप लगाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा पाँच सय, राप्तीसोनारी गाउँपालिकामा आठ सय, खजुरा गाउँपालिकामा नौ सय, नरैनापुर गाउँपालिकामा पाँच सय, कोहलपुर नगरपालिकामा सात सय, डुडुवा गाउँपालिकामा पाँच सय, जानकी गाउँपालिकामा नौ सय र बैजनाथ गाउँपालिकामा सात सय गरी पाँच हजार पाँच सय डोज खोप पशुलाई लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पशु सेवा विज्ञ केन्द्रका अधिकृत कमल चन्दले जिल्लामा अझै ८२ हजार डोजको खोप माग भएको जानकारी दिँदै वर्षा भएपछि पशुमा रोग बढ्दो अवस्थामा रहेको बताए। “पशुको मृत्यु दरमा कमी आएको छ र उपचार भएका पशु निको पनि हुँदै गएका छन्”, उनले भने। अधिकृत चन्दले उक्त रोगका कारण दूधालु गाई वा भँैसीमा दूध उत्पादनको मात्रामा कमी आएको उल्लेख गर्दै थप डोज खोपका लागि मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए।

केन्द्रका अनुसार नेपालगञ्जमा चार हजार चार सय १८, राप्तीसोनारीमा चार हजार पाँच सय ६९, खजुरामा आठ हजार ३०, नरैनापुरमा चार हजार तीन सय ९५, कोहलपुरमा चार हजार आठ सय ५३, डुडुवामा चार हजार नौ सय ७५, जानकीमा चार हजार पाँच सय २७ र बैजनाथमा चार हजार आठ सय २५ गरी ४० हजार पाँच सय ९२ पशुमा सङ्क्रमण देखिएको छ ।

यसमध्ये राप्तीसोनारीमा २९, खजुरामा ४१, नरैनापुरमा सात, कोहलपुरमा १७, जानकीमा १२ र बैजनाथमा २२ सहित एक सय २८ पशुको मृत्यु भएको छ । बाँकेमा अहिलेसम्म पशुमा देखिएको सङ्क्रामक ‘लम्पी स्किन’विरुद्धको औषधि तथा उपचारमा रु चार लाख खर्च भएको र रु १० लाख ३३ हजार पाँच सयको खोप खरिद भएको अधिकृत चन्दले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*