संवैधानिक परिषद्को बैठक बस्दै

के प्रचण्ड र ओलीको कुरा मिल्यो त ?
नमुनापत्र संवाददाता
१८ श्रावण २०८०, बिहीबार ०८:२३

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल गर्न आज (बिहीबार) संवैधानिक परिषद्को बैठक बस्दै छ।

यसअघि मंगलबार बसेको बैठकमा सहमति नजुटेपछि पुनः आज संवैधानिक परिषद्को बैठक राख्न लागिएको हो। बैठक साँझ ५ बजे बस्नेछ।

आजको बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिएका छन्।

संवैधानिक परिषद्का एक सदस्यका अनुसार मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समितिका सभापति चयनको विषय उठाएपछि प्रधानन्यायाधीश सिफारिस हुन नपाएको हो।

अब आजको बैठकबाट प्रधानन्यायाधीश सिफारिस हुने अपेक्षा गरिएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ। अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि ढिला भइरहेको छ।

अब विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ। वरीयताक्रममा अगाडि रहेका उनले हरिकृष्ण कार्कीलाई प्रतिस्थापन गर्नेछन्।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रचण्डसँथ अलिक प्याकेजमै सहमति खोज्न चाहेकाले अघिल्लो परिषद् बैठक अनिर्णित भएको एमालेका एक उपाध्यक्षले बताए । उनका अनुसार यस बीचमा भेटेर होइन अन्य मार्फत दुई नेताबीच मोटो हिससाबमा सहमति भएको हुनसक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*