हतकडीसहित फरार भएका लामा निजगढबाट पक्राउ

नमुनापत्र संवाददाता
१८ श्रावण २०८०, बिहीबार २१:५८

बारा । हतकडीसहित फरार भएका जीतपुर सिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीका सागर लामालाई प्रहरीले विहिबार साँझ निजगढबाट नियन्त्रणमा लिएको छ । साउन १६ गते टांगियाबस्तीस्थित घरबाट हतियारसहित पक्राउ परेको केही समयमै फरार भएका ३५ वर्षीय लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामा आत्मसमर्पण गर्नका लागि निजगढ पुगेका बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । सोही क्रममा प्रहरीले निजगढ बजारबाट उनलाई नियन्त्रणमा लिएको हो । हतकडीसहित फरार रहेका लामालाई गोली हानेर नियन्त्रणमा लिन आदेश दिएपछि परिवारका सदस्य लामाको आत्मसमर्पणका लागि राजी भएको र सोही अनुसार निजगढ पुगेको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ ।

केहि दिनअघि घरमा भरुवा बन्दुक र वन्यजन्तुको अंग फेला परे पछि प्रहरी द्वारा सोहि दिन नियन्त्रणमा लिएका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालय निजगढ तर्फ ल्याउने क्रममा स्थानीय महिलाहरुले बाटो छेकेर अवरोध गरेपछि दुबै पक्षबीच दोहोरो भिडन्त भएको थियो । करिब तीन सयको सङ्ख्यामा आएका महिलाहरुले प्रहरी टोलीमाथि ढुङ्गामुढा गरी हतियारसहित पक्राउ परेका लामालाई प्रहरीको भ्यानबाट खोसेर लगेका थिए । भिडन्तमा इलाका प्रहरी कार्यालय निजगढमा बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी सामान्य घाईते भएका थिए ।

शाहीको बाँया हातमा चोट लागेको छ भने गिरीको बाँया कुम र बाँया हातमा चोट लागेको छ । वडा सदस्यको रोहबरमा घटनास्थलको मुचुल्का गरेर लामालाई निजगढ प्रहरी कार्यालय तर्फ ल्याउने क्रममा बाटो छेकेर बसेका युवा र महिलाहरुको समुहले प्रहरीमाथि एक्कासी ढुङ्गामुढा गरेको थियो । स्थानीयले आक्रमण गर्न थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो ।

लामाले घरमा ठुला हतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोलीले लामाको घरमा छापामारी गरेको थियो । सो क्रममा लोड भएको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको जस्तो देखिने २ वटा दारा, रौं १३ ओटा र नङ्ग्रा ३ वटा बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हथकडीसहित फरार बनेका लामा वन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको , घरमा ठूला हतियारसमेत राख्ने गरेको सूचनाको आधारमा घरमा छापामारेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*