बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

नमुनापत्र संवाददाता
१९ श्रावण २०८०, शुक्रबार ०२:३४

नेपालगन्ज । शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ ।

सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ । यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए।

उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ महिला छन् । अहिलेसम्म जिल्लाका सबै नाकामा ४० हजार पाँच सय ४६ जनालाई सूचना तथा परामर्श दिएको सुवेदीले बताए।

सुवेदीका अनुसार एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी चारवटा मुद्दा दर्ता भएका छन् । “खुला सीमा भएका कारण मानव बेचबिखन रोकथाममा चुनौती छ”, उनले भने। गरिबीका कारण अवसर खोज्दा दलालको चङ्गुलमा फस्ने खतरा रहेको उल्लेख गर्दै संयोजक सुवेदीले मानव बेचबिखनको जोखिममा रहेकाको उमेर समूह १८ देखि २५ वर्ष रहेको जानकारी दिए।

पुनःस्थापना गृह बाँकेकी संयोजक सिर्जना गौतमले नयाँ–नयाँ तरिका अपनाएर मानव बेचबिखन गर्न थालिएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷८० मा भारतबाट उद्धार गरिएकाको सङ्ख्या २२ रहेको छ । संस्थामा खोजतलासका लागि परेका एक सय ७२ निवेदनमध्ये एक सय २४ जना भेटिएको तथ्याङ्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*