सर्लाहीका सिडिओविरुद्ध ‘मुर्दावाद भन्दै सेवाग्राहीले गरे प्रदर्शन
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीका जिल्ला प्रमुख अधिकारी (सिडिओ) विरुद्ध सेवाग्राहीहरुले प्रदर्शन गरेका छन । नागरिकता वितरणमा विभिन्न बहाना देखाउदै कर्मचारीले दुःख दिने गरेको भन्दै बिहीबार सेवाग्राहीको समूहले सिडिओ मुर्दावाद, नागरिकतामा घुसखोरी बन्द गर भन्दै प्रर्दशन गरेका हुन ।
नागरिकताको प्रतिलिपि लिनसमेत कर्मचारीले अनावश्यक बखेडा झिकेर दुःख दिने गरेको चन्द्रनगर गाउपालिका वडा नं १ का चन्द्रकिशोर साहले बताए । उनले विगत ३ दिनदेखि नागरिकताको प्रतिलिपि लिन कार्यालयमा धाउँदासमेत कर्मचारीले बेवास्ता गरेपछि प्रदर्शनमा उत्रिनु बाध्य भएको बताए ।
नागरिकता लिन सम्पुर्ण कागजात र प्रक्रिया पुर्याएर ल्याउँदा पनि कर्मचारीले विभिन्न बहानामा पैसा माग्ने गरेको प्रदर्शनमा उत्रेका सेवाग्राहीहरुको आरोप छ । पैसा असुल्नकै लागि कार्यालयका कर्मचारीले नागरिकता लिन प्रक्रिया पुर्याएका सेवाग्राहीहरुलाई समेत सर्जमिन काटेर दुःख दिने गरेको प्रर्दशनको अगुवाई गरिरहेको पूर्वसांसद तथा जसपाका नेता प्रमोद साहले आरोप लगाए ।
कार्यालयका स्थायी कर्मचारीले बदमासी नगरेपनि कार्यालयमा कार्यरत करारका र पियन स्तरका कर्मचारीले पैसा असुल्न सेटिङ मै काम गर्ने गरेको साहको भनाइ छ । उनका अनुसार पैसा पाउने नभएपछि प्रक्रिया पुरा भइसकेको सेवाग्राहीको फाईल नै गायब सम्म गरिने गरिएको छ । यस विषयमा सिडिओ समक्ष बारम्बार गुनासो गर्दासमेत कुनै पहल नभएको कारण बाध्य भएर सेवाग्राहीहरु प्रदर्शनमा उत्रनु परेको पनि साहले बताए ।

तर, उता जिल्ला प्रशासन कार्यालयमा कार्यरत एकजना कर्मचारीले भने आफनो नाम उल्लेख नगर्ने शर्तमा त्यस्तो कुनै अनैतिक काम नगरेको जवाफ दिए ।
उनले भने, ‘जन्मको आधारमा वितरण गरेको नागरिकताको तथ्याङ्क हेर्ने हो भने देशभरिमै सबैभन्दा बढी नागरिकता वितरण गर्ने नै सर्लाही हो । असार १० देखि श्रावन १८ सम्म जिप्रका सर्लाहीले जन्मको आधारमा मात्र ५ हजार ५ सय २५ वटा नागरिकता बितरण गरेको छ ।’
यस सम्बन्धी थप बुझ्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।





