लुम्बिनी विकास कोष : ल्यारकाल ल्याउन प्रधानमन्त्रीको दबाब, आनी छोइङको पक्षमा पर्यटनमन्त्री

नमुनापत्र संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १३:३५

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादित पृष्ठभूमिका ल्यारकाल लामालाई अघि सारेपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराती समस्यामा परेका छन्।

आनी छोइङ डोल्मालाई उपाध्यक्ष बनाउने गरी आवश्यक तयारी थालिसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले ल्यारकालको नाम अघि सारेपछि किराती अप्ठेरोमा परेका हुन्।

साउन दोस्रो हप्तादेखि खाली रहेको कोषको उपाध्यक्षका लागि आधा दर्जन दौडमा छन्। तर, लामा र डोल्मामध्ये एकले नियुक्ति पाउने सम्भावना बलियो छ।

पाँच वर्षे कार्यकालको उपाध्यक्ष बन्न आधा दर्जन आकांक्षीले प्रधानमन्त्री र पर्यटनमन्त्रीको घरदैलो चहारिरहेका छन्।

लुम्बिनी विकास कोषको संरक्षक प्रधानमन्त्री रहने व्यवस्था छ। कोषले उद्देश्य पूरा गर्न परिषद् गठन गर्ने व्यवस्था गरिएको छ। परिषद्को अध्यक्ष संस्कृति मन्त्री रहने व्यवस्था कानुनमा छ।

परिषद्को उपाध्यक्ष सरकारले मनोनीत गरेको व्यक्ति रहन्छ। सरकारका ४ सचिव, बौंद्ध संस्था लगायत विशेषज्ञबाट ४ जना, अन्तराष्ट्रिय संस्थाका प्रतिनिधि ४ जना, सरकारले मनोनित गरेको व्यक्ति कोषाध्यक्ष र सदस्य सचिव रहने व्यवस्था छ।

कोषको कार्यकारी पद उपाध्यक्ष हुन्छ। विश्वभरका बौद्धमार्गीमा आफ्नो प्रभाव देखाउन कोषको नेतृत्व लिन हानथाप चलिरहेको छ।

प्रधानमन्त्री दाहालले पर्यटन मन्त्री किरातीलाई ल्यारकाललाई उपाध्यक्ष बनाउने गरी प्रस्ताव ल्याउन निर्देशन दिएको मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्।

लामा नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत रहेका छन्। पहिलो संविधानसभामा एमालेबाट सांसद बनेका लामा दोस्रो संविधानसभामा माओवादी प्रवेश गरेका थिए।

‘प्रधानमन्त्रीबाट स्पष्टसँग ल्यारकाललाई नै उपाध्यक्षमा सिफारिस गर्न निर्देशन भएको छ,’ पर्यटन मन्त्रालयका ती उच्च अधिकारीले बताए।

मन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिद्ले कोषको उपाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ।

मन्त्री किराती भने गायिकासमेत रहेकी आनी छोइङलाई उपाध्यक्ष बनाउनुपर्ने लाइनमा छन्। उनले यही असार १९ गते आनीसँग भेट गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्।

‘सोच राम्रो, मान्छे राम्रो र स्वर उत्तिकै राम्रो,’ सामाजिक सञ्जालमा भेटघाटको तस्विर सार्वजनिक गर्दै मन्त्री किरातीले भनेका थिए, ‘चर्चित गायिका आनी छोइङ डोल्मासँग भेट भयो। अनि देशको कुरा, संस्कृतिको कुरा अनि पर्यटनको कुरा पनि भयो।’

आनी छोइङ डोल्मा काठमाडौंको बौद्धमा १९७१ मा जन्मिएकी हुन्। उनी तिब्बती शरणार्थीकी छोरी हुन्।

‘मन्त्रीले आनी छोइङलाई उपाध्यक्ष बनाउन चाहनु भएको हो,’ उनीनिटक एक अधिकारीले भने, ‘तर नेपाली नागरिकता लगायत केही प्राविधिक समस्या पनि आएका छन्।’

ती अधिकारीले पनि प्रधानमन्त्रीले ल्यारकाल लामालाई उपाध्यक्ष बनाउने गरी सिफारिस गर्न मन्त्रीलाई निर्देशन दिएको स्वीकार गरे।

त्यसबाहेक हालै कार्यकाल सकिएका भिक्षु मैत्तेय अवधेशकुमार त्रिपाठी ले पनि पुनः नियुक्ति चाहेका छन्। भान्ते समाङ्गलो पनि उपाध्यक्षको दौडमा छन्।

परिषदसँगै कोषको सम्पूर्ण काम कारबाही सञ्चालन गर्न छुट्टै समिति हुन्छ। समितिको अध्यक्षमा परिदषद्को अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, अध्यक्षले छानेका ४ परिषद् सदस्य र सदस्य सचिव रहन्छन्।

विवादमा नमुछिएका खोज्न माग

साउन १५ मा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बौद्ध धर्मावलम्बीहरूले फौजदारी मुद्दा र विवादमा नपरेकालाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले गौतम बुद्धका लाखौं शिष्य हुँदा पनि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा खल्तीको मान्छे नियुक्त गर्न लागेको भन्दै विरोध गरेका छन्।

बौद्धमार्गीहरुले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्षसहितका नियुक्ति नगर्न सरकारसँग माग गरेका छन्।

सरकारले बुद्धको अनुयायी, राजनीतिक दलमा नमुछिएको, फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएकालाई छनोट गर्नुपर्ने उनीहरुले बताएका छन्।

नेपाल बौद्ध महासंघका पूर्व सदस्य तथा शान्ति विद्यालयका प्रमुख धर्मगुरु पासङ तोक्बा लामाले दलका शीर्ष नेताहरुले लुम्बिनी विकास कोषलाई कार्यकर्ता भर्तीकेन्द्र बनाएको आरोप लगाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*