सरकारको पूर्णताले कामको गति बढ्छ : मुख्यमन्त्री शाह

नमुनापत्र संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १८:२९

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको पूर्णताले कामको गति बढ्ने मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र भेटघाटमा जाने क्रममा उनले अबको मन्त्री परिषद्को बैठकले प्रदेशको विकास र समृद्धिका लागी नयाँ योजना ल्याउने समेत बताएका हुन्।

“नागरिक उन्मुक्ति गठबन्धन दल भन्दा बाहिरिन्छ की, सरकारमा आउँदैन की भन्ने हल्ला थियो । त्यसलाई चिर्ने काम भएको छ । हामी गठबन्धन भित्र जति पनि पार्टीहरू छौ त्यसको प्रतिनिधित्व भएको छ । सबै दलको सहभागिताले पक्कै पनि काम गर्न सहज हुनेछ । प्रदेशको विकास र समृद्धिका लागी अव चाँडै नै क्याबिनेट बसाएर केही नयाँ कामको थालनी गर्छौ,” उनले भने ।

गत माघमा मुख्यमन्त्री नियुक्त भएका कमल बहादुर शाहले गठबन्धन दलमा भागबन्डा नमिल्दा सरकारलाई पूर्णता दिन सकेको थिएनन् । नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी र एकीकृत समाजवादी पहिले नै सहभागी थियो । भने नागरिक उन्मुक्तिले समर्थन मात्रै जनाएको थियो । एक मन्त्री र एक राज्यमन्त्री दिने सहमति पछि गत बुधवार मात्रै उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको हो ।

नयाँ मन्त्रीहरूमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरू रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् भने अर्का सांसद कैलाश चौधरी सोही मन्त्रालयमा राज्यमन्त्री नियुक्त भएका छन् । गत माघ २७ गते गठित काँग्रेस नेतृत्वको वर्तमान सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुरुदेखि नै मन्त्रीविहीन थियो । काँग्रेसका तर्फबाट मन्त्री रहेका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि रिक्त आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा काँग्रेसले सांसद शिवराज भट्टलाई पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*