उपमहासचिवको प्रस्ताव- पार्टीमा उत्तराधिकारी तयार पार्दै डिजिटल पुस्तालाई भर्ती गर्नुपर्ने

नमुनापत्र संवाददाता
२० श्रावण २०८०, शनिबार २१:५८

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले पार्टीमा उत्तराधिकारी तयार गर्नुपर्ने बताएका छन् । पार्टी विधिसम्मत चलाउन विधान मिच्न नहुने भन्दै उनीहरूले क्रमशः नयाँ पुस्तामा उत्तराधिकार हस्तान्तरण गर्दै जानुपर्नेमा जाेड दिए ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उनीहरूले सरकारले गरेका जनपक्षीय काममा सबैले साथ र समर्थन दिनुपर्ने बताए ।

उपमहासचिव पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताउँदै सरकारबाट राम्रो कामको थालनी भएको दाबी गरे । उनले भने, “भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ । यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ ।”

पार्टी पुनःनिर्माणको ऐतिहासिक सम्भावना रहेको बताउँदै उनले पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए । पुनले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राखे । वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षका रूपहरू फेरिएको भन्दै उनले अहिलेको मूल मोर्चा सरकार नै भएको स्पष्ट पारे ।

अर्का उपमहासचिव शर्माले सरकारले थालनी गरेका सुशासनसम्बन्धी काममा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारे । पार्टीलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको भन्दै उनले गुनासो समेत गरे ।

पार्टीलाई जनतासँग जोड्नुपर्ने, पार्टी पङ्क्ति उत्पादनमा होमिनुपर्ने, भौगोलिक र पर्यावरणीय, जातीय तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरेर आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना र आत्मनिर्भताका लागि पहल गर्नुपर्नेमा उनले जाेड दिए ।

शर्माले भने, “पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने सङ्कल्प गर्नुपर्छ । नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ । समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित ‘क्लष्टर’मा निर्वाचन गर्नुपर्छ ।”

उनले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एकतिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्ने बताए । “पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ”, शर्माले भने ।

पार्टीलाई पूर्णतः डिजिटल बनाइनुपर्ने, डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्नेमा पनि उहाँले जोड दिँदै उत्तराधिकारीको लामबन्दी तयार गर्नुपर्ने उनकाे भनाइ थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*