सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

नमुनापत्र संवाददाता
२१ श्रावण २०८०, आईतवार २२:१२

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा सम्लग्न व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाइ छ।

पक्राउ परेका यादवले आफूलाई वीर अस्पतालको डाक्टर तथा गृह मन्त्रालयको कर्मचारी रहेको भनी जाहेरवालालाई वीर अस्पतालमा जागिरसमेत लगाइ दिन्छु र निजको आफन्तलाई वैदेशिक रोजगारको लागि क्यानडा, इजरायललगायतका देशमा सरकारी कोटामा पठाइ दिने भन्दै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारीचालक अनुमतिपत्र लागि विभिन्न प्रलोभन र प्रभावमा पारी ३० लाख ५५ हजार लिई ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो।

यसैगरी निजले विकास पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको बिलबुकमा आफ्नो फोटो टाँसी किर्ते गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका सतेन्द्रप्रसाद अधिकारी भन्ने सत्यन्द्र यादवलाई ठगीसम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*