सामाखुशी खोलामा बाढी, स्ल्याब हटाउदा खोला बस्तीमा पसेको आरोप

नमुनापत्र संवाददाता
२३ श्रावण २०८०, मंगलवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिका– ३ स्थित सामाखुशी खोलामा बाढी आएको छ। मंगलबार बिहानैदेखि लगातारको वर्षाका कारण सामाखुशी खोलामा बाढी आएको हो। बाढीले वडा नम्बर ३ र २६ खोलावरपरका सडक जलमग्न भएका छन्।

खोला छेउमा भएका घरभित्रै बाढी छिरेको छ। सडक पार गरेर घरभित्र पानी पस्न थालेपछि स्थानीय सडकमा निस्किएका छन्। पानी छिर्न नदिन सडकको छेउमा ढुंगा,इट्टाले छेकबार लगाउन खोजेपनि उनीहरूको प्रयास निरर्थक भएको छ। घरभित्रै घुँडाघुँडासम्म आइपुग्ने गरी पानी जमेपछि बाल्टीले उभाएर पानी फालिरहेका छन्।

बाढीका कारण सवारी आवागमन अवरूद्ध भएको छ। वडा नम्बर ३ का वडाध्यक्ष प्रेम थापाले त्यस क्षेत्रमा महानगरको विपद् व्यवस्थापन अन्तर्गतको टोली परिचालन गरिएको जानकारी दिए। आफूपनि बाढीले पुर्‍याएको क्षति अवलोकन र वडावासीको अवस्था बुझ्न जाँदै गरेको उनले बताए। काठमाडौं महानगरपालिकाले एकसाता अघि खोलामाथिको स्ल्याब हटाएको थियो। स्थानीयबासीले भने खोलको स्ल्याब हटाउदा खोला बस्तीमा पसेको आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*