बालुवाटारमा शीर्ष नेताको बैठक : गृहमन्त्री श्रेष्ठले जवाफ दिने भएपछि सदन खुलाउन एमाले सहमत

नमुनापत्र संवाददाता
२३ श्रावण २०८०, मंगलवार १७:३२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दुई सातादेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सहमत भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले यस्तो सहमति जनाएको हो।गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएपछि एमालेले संसद्‍को अवरोध खुलाउन तयार भएको हो।

बैठकमा दलका अन्य नेताहरुले पनि सुन तस्करी प्रकरणबारेमा बोल्ने भएका छन्।एमालेका सचेतक महेश बर्तौलाले गृहमन्त्री श्रेष्ठको जवाफ सुनेपछि थप निर्णय लिने बताए। यदि गृहमन्त्रीको जवाफमा चित्त नबुझेमा फेरि संसदमा अवरोध रहने उनले बताएका छन्।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए। सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*