संखुवासभा कारागारबाट भाग्दै गर्दा पक्राउ परेका २ कैदीको मृत्यु

नमुनापत्र संवाददाता
२४ श्रावण २०८०, बुधबार १३:०३

विराटनगर । संखुवासभा कारागारमा कैदीकै कुटाइबाट दुई कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामी रहेको कारागारका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए।

तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए।

मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर पुनः कारागारमा लगेको थियो।

त्यसपछि कारागारभित्रै रहेका कैदी कर्मचारीले कुटपिट गरी हत्या गरेको कारागार प्रशासनले जनाएको छ। कुटपिटमा संलग्न ९ जना कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत लगिएको छ।

‘दुईजना झ्याल रड भाँचेर बाहिर निस्किए। त्यसपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर पक्राउ गर्यो। दुवै जनालाई जेलभित्र राखियो। भित्र प्रशासनका कैदीहरुले साफ कुटेछन्। ९र१० जनाको नाम आएको छ। कुटपिटमा संलग्न ९ जनालाई निकालेपछि अहिले शान्त भएको छ’, जेलर घिमिरेले नेपालखबरसँग भने।

अहिले शव जिल्ला अस्पताल लगिएको छ। प्रशासनले घटनाका विषयमा छानबिन गर्ने तयारी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*