दाङमा पाटीको नाममा लाखौँ रकम चन्दा माग्ने सल्यानका दुई जना पक्राउ

नमुनापत्र संवाददाता
२५ श्रावण २०८०, बिहीबार २२:०१

दाङ । दाङमा विभिन्न घटनामा संलग्न आठ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाइकल र स्कुटी चोरी गर्ने ६ जना र पार्टीको नाममा चन्दा माग्ने दुई जनालाई पक्राउ गरकोे हो ।

प्रहरीले पाटीको नाममा लाखौँ रकम चन्दा माग्ने दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले नेकपा बहुमतको नाममा चन्दा माग्ने सल्यानको त्रिवेणी गाउँपालिका ४ का ३३ वर्षिय धनराज तुफान भनिने धन बहादुर परियार र छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौरका २९ वर्षिय चन्द्र प्रकाश विकलाई पक्राउ गरेको हो ।

उनीहरुले तुलसीपुर–६ स्थित हिमाल एकाडेमीका प्रधानाध्यापक मधुसुदन केसीलाई दश लाख, सल्यान कपुरकोटस्थित कालिका माविका शिक्षक बामदेव अधिकारीसंग पाँच लाख, दाङ तुलसीपुर–१८ स्थित बेलझुण्डी माविका शिक्षक जानका बस्नेतलाई १ लाख र तुलसीपुर–७ बुढागाउँ पर्सेनीका इन्द्र बहादुर वलीलाई १ लाख रकम चन्दा माग गरेका थिए ।

पक्राउ परेका दुवै जनाले नेकपा बहुमतको लेटरप्याड प्रयोग गरी ठुलो रकम चन्दा माग गरेका हुन् । पक्राउ परेका साथबाट मोबाईल २ थान, विभिन्न व्यक्तिको फोटो पनि बरामद गरिएको छ । यस्तै एक थान कम्प्युटर, एक थान प्रिन्टर, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको छ ।

दुवै जनाले चन्दा मागेको प्रहरीलाई जानकारी नदिन धम्कि समेत दिने गरेको खुलेको छ । उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने जस्ता धम्की दिएर चिठी र मोवाईल सन्देश पठाउने गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौं, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देही एवं जिल्ला प्रहरी कार्यालय दाङबाटसहितको सहयोगमा उक्त घटना बाहिर आएको हो ।

पिडितको उजुरीको आधारमा दुवै जनालाई पक्राउ गरि सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जना विरुद्ध अपराधिक लाभ सम्बन्धि कसुर मुद्धामा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिमको कसुरमा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रमुख मल्लले बताउनुभयो ।

चोरी गरेको आरोपमा थप ६ जना पक्राउ

प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गरेको आरोपमा थप ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाइकल र स्कुटी चोरी गरेको आरोपमा छ जनालाई पक्राउ गरी सार्वजनक गरेको हो ।

प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरका २८ वर्षिय मोहन भन्ने मुस्कान घर्ती, बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ का १९ वर्षिय विशाल बुढा र १८ वर्षिय प्रशान्त खड्कालाई पक्राउ गरिएको हो । उनीहरु तीनै जनाले तुलसीपुरकोे विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरेका हुन् ।

यस्तै प्रहरीले स्कुटी चोरीको आरोपमा तुलसीपुर–५ का २८ वर्षिय सन्तोष परियार, दंगिशरण ६ का १९ वर्षिय नविन परियारलाई पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर–१३ घर भई तुलसीपुर ५ मा बस्दै आएका १६ वर्षिय युवकको नाम भने खुलाएको छैन् । उनीहरुले तुलसीपुर ९ निवासी लिना बस्नेतको रा ८ प ८४२ नम्बरको स्कुटी घरबाटै चोरी गरेको खुलेको छ । उनीहरुले प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*