सुन तस्करीमा सत्तारूढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान भएन : रवि लामिछाने

नमुनापत्र संवाददाता
७ आश्विन २०८०, आईतवार १७:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारूढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले सो प्रकरणमा सत्तारूढ दलका मानिसमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् । उनले अनुसन्धान हेर्दा भद्दा मजाकजस्तो देखिएको उल्लेख गरे ।

सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भए पनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी उनले गरे । शंकाको घेरामा रहेका व्यक्तिहरू मोबाइल फर्म्याट गरेर प्रहरीकामा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनी आशंका व्यक्त गरे ।

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले ‘सुनपानी छर्कने’ काम गरेको बताए । अनुसन्धान अपुरो भएको भन्दै उनले अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुन सक्ने आशंका व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*